डिसेम्बर 09 – परमेश्वरको शक्ति
परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो। (लूका 5:17)
परमेश्वरले आफ्नो निको पार्ने शक्ति हाम्रो बिचमा राख्ने प्रतिज्ञा गर्नुभएको छ। सबै प्रकारका चंगाईहरु मध्ये तपाईंको आत्मिक चंगाई चाहिँ सबैभन्दा महत्वपूर्ण हो। यदि तपाईको आत्मिक विकास हुन्छ भने तपाई साच्चै नै स्वस्थ हुनुहुन्छ र सबै कुरामा तपाईंको विकास हुन्छ।
दाउद राजा भन्छन् “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्। मलाई निको पारिदिनुहोस्, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”(भजनसंग्रह 41:4) परमेश्वर र तपाईको बीचको सम्बन्धको नविकरण तब हुन्छ जब तपाईले आफ्नो पाप हरुका निम्ति पश्चात्ताप गर्नुहुन्छ। तब मात्र तपाइले आफ्नो आत्मामा एक ईश्वरीय आनन्दको महसुस गर्नुहुन्छ र तपाईंले ईश्वरीय चंगाई प्राप्त गर्नुहुन्छ।
परमप्रभु घोषणा गर्नुहुन्छ “तिनीहरू मबाट तर्किगएकामा म तिनीहरूलाई क्षमा गर्नेछु। म तिनीहरूलाई सित्तैँमा प्रेम देखाउनेछु, किनकि मेरो रीस तिनीहरूदेखि फर्केको छ।” (होशे 14:4)
हेर्नुस त, माथिको पदमा कसरी तर्किगएको अवस्थाबाट क्षमा र चंगाइको अवस्थामा परिणत भएको छ । जब आखाको अभिलाषाको निम्ति परमेश्वरबाट तर्किजाने, शारीरिक अभिलाषा र जीवनको सेखी भएकाहरुले पश्चाताप गर्छन र परमेश्वरतिर फर्किन्छन भने, परमेश्वरले उनीहरुलाई क्षमा गर्नुहुन्छ र आत्मिक चंगाई दिनुहुन्छ।
अरु कसले यस्तो चंगाई प्राप्त गर्छ? टुटेका हृदय हुनेहरुले चंगाई प्राप्त गर्छन (लुका 4:18)
परीक्षा र संघर्ष, असफलता र धोकाले हाम्रो हृदयलाई तोड्ने काम गर्छ। ति सबैले हाम्रो हृदय र हाम्रो आत्मालाई थिच्ने गर्छन। आफुले भरोसा गरेको व्यक्तिबाट जब तपाई धोका पाउनुहुन्छ भने तपाइको हृदयमा ठुलो आघात पर्दछ। यस्तो समयमा केवल परमेश्वरले मात्र तपाइलाई छुन अनि चंगाई दिन सक्नुहुन्छ। उहाले टुटेका हृदय भएकाहरुलाई चंगाई दिनुहुन्छ, कैदीहरुलाई छुटकारा दिनुहुन्छ र उनीहरुलाई सान्त्वना र शान्ति दिनुहुन्छ।
पवित्र शास्त्रमा स्वास्थ्य र चंगाईको बारेमा हामी धेरै प्रतिज्ञाहरु पाउन सक्छौं। उहाँले तपाईंको आत्मालाई चंगाई दिनुहुन्छ । उहाले परमेश्वरबाटको तपाइको तर्काईबाट चंगाई दिनुहुन्छ। उहाले टुटेको हृदयलाई निको पार्नुहुन्छ र सान्त्वना दिनुहुन्छ। उहाले त्यागीएकाहरुलाई र समाजबाट बहिस्कृत भएकाहरुलाई पनि चंगाई दिनुहुन्छ। हाम्रो परमेश्वर कति महान र अनुग्रहकारी हुनुहुन्छ!
परमप्रभु भन्नुहुन्छ ” तापनि म त्यसमा स्वास्थ्य र आरोग्यता ल्याउनेछु। म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्त शान्ति र सुरक्षा भोग गर्न दिनेछु।” (यर्मिया 33:6)
हाम्रो प्रभु येशुको यस संसारमा रहदाको सेवकाईको समयमा यस्तो कुनै व्यक्ति थिएन जो उहाँकहाँ आएर इश्वरीय चंगाई नपाइ खालि हात गएको होस्।
परमेश्वरका प्रिय छोराछोरीहरु, हाम्रो परमेश्वर जो हिजो, आज र सधैभरि एकसामान हुनुहुन्छ, आज उहाँले तपाइलाई पनि उही इश्वरीय चंगाई दिनुहुनेछ!
मनन गर्नका लागी : “अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो।” (मत्ती 4:23)