सेप्टेम्बर 05 – शान्तिका परमश्वर
“शान्तिका परमेश्वरले चाँड़ै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चनुहुनेछ। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।” (रोमी 16:20)
हाम्रा परमेश्वर शान्तिका परमेश्वर हुनुहुन्छ। ठिक विपरित, शैतान चाहिँ त्यो हो जसले शान्ति भङ्ग गर्ने काम गर्छ। त्यसकारण त परमेश्वर र सैतान बीच निरन्तर युद्ध भैरहन्छ, तर बिजय हाम्रो नै हुन्छ। छिट्टै नै शान्तिका परमेश्वरले शैतानलाई तपाईंको पैताला मुनि कुल्चाउनु हुनेछ। उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”(उत्पत्ति 3:15) उहाँले यो प्रतिज्ञा अदनको बगैंचामा गर्नुभयो।
परमेश्वरले यो प्रतिज्ञा कलवरि को क्रूसमा पूरा गर्नुभयो। उहाँले येशु ख्रिष्टको रगतद्वारा शैतानको शिर कुल्चिनुभयो र उसका कामहरुलाई तहसनहस पारिदिनु भयो। यसैका कारण परमेश्वरका पुत्र यस संसारमा प्रकट हुनुभयो। यसै कारणले नै शैतान ख्रीष्ट को रगतको बारेमा सुने बित्तिकै डराएर मुर्छा पर्छ।
धेरै राष्ट्रहरूमाथि विजय प्राप्त गरिसके पछि नेपोलियन पूरा विश्वलाई नै आफ्नो अधीनमा पार्न चाहन्थे। विश्वको नक्सालाई अंकित गर्दै उनी आफ्ना सेनाका हाकिमहरूसँग छलफल गर्ने गर्थे। त्यो नक्सामा कतिपय राष्ट्रहरूलाई रातो रंगले घेरा लगाइएको थियो जुन राष्ट्रहरू बेलायतको अधीनमा थिए। त्यो रातो रंगले अंकित गरिएका राष्ट्रहरूलाई हेर्दै नेपोलियन रिसले चिच्याउने र कराउने गर्थे किनकि यदि ति राष्ट्रहरू बेलायतको अधीनमा नभएको भए उनले पूरा विश्वमाथी राज्य गर्न सक्ने थिए।
ठिक त्यसैगरी शैतान पनि निराश, रुष्ट अनि क्रोधित हुन्छ किनकि गलगथामा बगाएको येशू ख्रिष्टको रगतद्वारा उद्वार पाएका र बचाएका आत्माहरुका कारण उसले पूरा विश्वलाई आफ्नो अधीनमा पार्न सकिरहेको छैन हाम्रो परमेश्वरले कलबरीको क्रूसमा आफूले भोगेको मृत्यको कारणले मृत्यु माथि विजय प्राप्त गरिसक्नु भएको छ। त्यसैले त हामी यसो भनेर घोषणा गर्छौँ, स्वीकार गर्छौँ र परमेश्वरको महिमा गर्छौँ “परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।” (1 कोरिन्थि 15:57)
जब हाम्रो शत्रु शैतानलाई हाम्रो विरुद्ध कुनै षड्यन्त्र रच्दछ, परमेश्वरले तुरुन्तै उसको शिर कुल्चनुहुन्छ र उसलाई नष्ट गर्नुहुन्छ। आजको हाम्रो मुख्य पदमा पावल भन्छन “शान्तिका परमेश्वरले चाँड़ै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चनुहुनेछ।”
एकजना समाजसेवीले एउटा यस्तो घोषणा गरे : “खाना खाने तरिकाको विषयमा एउटा सानो बालक होस् या एक शक्तिशाली पुरुष होस्, कुनै फरक हुँदैन। यी दुवै वर्गका मानिसहरूले खाना आफ्नो हातले उठाउँछन् र मुखसम्म पुर्याउँछन्। त्यसैले शक्ति चाहिँ खाना कसरी खाइन्छ भन्ने कुरामा होइन तर खाना के खाइन्छ भन्ने कुरामा निर्भर हुन्छ।” ठिक त्यसैगरी तपाईंको हातहरू जत्ति नै कमजोर भए पनि यदि तपाईंले परमेश्वरको हात समाउनुभएको छ भने तपाईंमा पर्याप्त शक्ति हुन्छ र उहाले तपाईंलाई शान्ति प्रदान गर्नुहुन्छ। मुक्तिको समयदेखि मानिस परमेश्वरसँग जोडिएको हुन्छ। तर परमेश्वरको शान्ति चाहिँ उनीहरूमा हुन्छ जो विश्वासमा परिपक्व भएर आफ्नो जीवन जिउँछन्। परमेश्वरका प्रिय छोराछोरीहरू, के तपाईं परमेश्वरको शान्तिले भरिएको हुनुहुन्छ?
मनन गर्नका लागि ” किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। सन्तहरूका सबै मण्डलीमा भएको प्रथाअनुसार, (1 कोरिन्थी 14:33)